सिरहा । मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधि सभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ।
उपसमितिमा मा. तपेश्वर यादव, मा. डा. मो. फिरदोश आलम, मा. यशोदा कुमारी, मा. राजकिशोर महतो कोइरी र मा. रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्।
उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा सम्बन्धित आयोजनाहरूको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको मूल्यांकन गरी आवश्यक टिप्पणी तथा सिफारिससहित समितिसमक्ष प्रतिवेदन पेस गर्नेछ।
त्यस्तै, अनुगमन गरिएका कार्यालय तथा आयोजनामा सार्वजनिक सम्पत्तिको हिनामिना भए–नभएको अध्ययन तथा मूल्यांकन, प्रचलित ऐन, नियमअनुसार काम भए–नभएको परीक्षण र त्यससम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि उपसमितिलाई दिइएको छ।
उपसमितिले सम्बन्धित आयोजना तथा परियोजनाका अध्ययन प्रतिवेदन, करार सम्झौता, लेख तथा अन्य सामग्रीको अध्ययन–विश्लेषण, सम्बन्धित निकाय र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया, आयोजना स्थलको अवलोकन तथा अनुगमन गर्नेछ। आवश्यकताअनुसार विज्ञ, विशेषज्ञ तथा अनुसन्धानकर्तासँग समेत छलफल गर्ने कार्यविधिमा उल्लेख छ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८५ को उपनियम (३) बमोजिम पूर्वस्वीकृति लिएर कार्यक्षेत्रभित्रका आवश्यक स्थानमा भ्रमण गरी स्थलगत अध्ययन तथा अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ।
उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ। अनुगमन तथा अध्ययनपछि तयार गरिएको प्रतिवेदन पूर्वाधार विकास समितिसमक्ष पेस गरिनेछ।




















