सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राकेश प्रसाद साह (गुप्ता) प्यानलले व्यवसायीको हकहित, बजार व्यवस्थापन तथा संघको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
‘व्यावसायिक एकता, सुरक्षा र समृद्ध गोलबजार’ लाई मुख्य आधार बनाएको गुप्ता प्यानलले कर तथा प्रशासनिक सहजीकरणदेखि सुरक्षित बजार, व्यवसायी कल्याणकारी कोष र स्थानीय पर्यटन प्रवर्द्धनसम्मका योजना अघि सारेको छ।
प्यानलले आन्तरिक राजस्व कार्यालय र स्थानीय तहसँग समन्वय गरी कर प्रणालीलाई सरल बनाउने तथा संघको कार्यालयमा निःशुल्क कर, भ्याट (VAT) र लेखा परामर्श डेस्क स्थापना गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, बजारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी रात्रिकालीन गस्ती बढाउने, मुख्य चोकमा उच्च क्षमताका सीसीटीभी क्यामेरा जडान गर्ने र सडक बत्तीको व्यवस्था गर्ने योजना सार्वजनिक गरिएको छ।
गुद्री बजारलाई व्यवस्थित बनाउने, ट्राफिक जाम न्यूनीकरण गर्न पार्किङस्थल निर्माण गर्ने तथा बजारमा शुद्ध खानेपानी, शौचालय र फोहोर व्यवस्थापनको व्यवस्था गर्ने प्रतिबद्धतासमेत प्यानलले जनाएको छ।
व्यवसायीलाई सहज ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने, सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई व्यवसायीमुखी बनाउने र सहुलियत दरमा व्यावसायिक बीमाको व्यवस्था गर्न पहल गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।
लामो समयदेखि रहेको गाउँ ब्लक जग्गाको समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने, व्यवसायी तथा उनीहरूका परिवारलाई गम्भीर रोग, दुर्घटना वा विपद्का बेला तत्काल आर्थिक राहत उपलब्ध गराउन ‘व्यवसायी कल्याणकारी कोष’ स्थापना गर्ने प्रतिबद्धता पनि गरिएको छ।
यसैगरी, व्यवसायीको क्षमता अभिवृद्धि, आधुनिक बजार व्यवस्थापन र नेतृत्व विकासका लागि नियमित उत्प्रेरणात्मक कार्यक्रम तथा व्यावसायिक तालिम सञ्चालन गर्ने र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना अघि सारिएको छ।
कृषि व्यापार तथा गुद्री बजारलाई प्रवर्द्धन गर्न शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाका लागि पहल गर्ने र वार्षिक रूपमा ‘गोलबजार औद्योगिक तथा व्यापार महोत्सव’ आयोजना गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
प्रतिबद्धतापत्रमा ऐतिहासिक तथा धार्मिक धरोहर धामीनी मन्दिरलाई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संघको भवन स्तरोन्नति तथा व्यवसायजन्य आम्दानीका स्रोत अभिवृद्धि गर्ने विषयसमेत समेटिएका छन्।
गोलबजार नगरपालिकाभित्रका उत्कृष्ट व्यापारी, समाजसेवी, विद्यार्थी तथा खेलाडीलाई संघको तर्फबाट विशेष सम्मान गर्ने र निर्वाचनमा विजयी भएपछि जग्गादाता परिवारको सम्मानस्वरूप उनीहरूको परिवारका एक जनालाई कार्यसमिति सदस्यमा मनोनीत गर्ने प्रतिबद्धता पनि गुप्ता प्यानलले सार्वजनिक गरेको छ।
व्यापारीका समस्यालाई निष्पक्ष र पारदर्शी ढंगले समाधान गर्ने, प्रत्येक ६ महिनामा आय–व्यय सार्वजनिक गर्ने तथा प्रत्येक वर्ष समयमै साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धतासहित गुप्ता प्यानलले मतदातासँग समर्थन र मत मागेको छ।
गुप्ता प्यानलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै गोलबजारको व्यावसायिक वातावरण सुधार गर्ने दाबी गरेको छ।


















