सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ कुसण्डीतर्फ जाने बाटोमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई एक राउन्ड गोली प्रहार गर्दै नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो (गोलबजार) बाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गरिरहेको BR 32 M 7338 नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक भाग्न खोजेपछि गोली प्रहार गरी मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति भारत बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत बिरपुर ग्रामपञ्चायत वडा नं. ९ निवासी ३८ वर्षीय श्यामसुन्दर पासवान हुन्। उनलाई नियन्त्रणमा लिएपछि गरिएको शारीरिक चेकजाँचमा करिब ५० ग्राम खैरो हिरोइन बरामद गरिएको हो।

जिल्ला प्रहरि कार्यालय सिरहाका डिएसपि बिरेन्द्र कुमार पासमानका अनुसार, गोली प्रहार सुरक्षा सतर्कताको हिसाबले गरिएको हो। पक्राउ परेका पासवानलाई बरामद लागुऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारि पठाइएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध निगरानी थप कडा बनाइने जनाएको छ।