भोगिन्द्र साह,सिरहा । जनमत पार्टी सिरहा जिल्ला समन्वय समिति अन्तर्गतको बैठक तथा प्रशिक्षण कार्यक्रम सिरहाको गोलबजार नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

पार्टीका जिल्ला इन्चार्ज बिनोद यादवका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। उनले पार्टीको विधानअनुसार आयोजना गरिएको यो बैठकमार्फत जिल्लाभरिका नेताकार्यकर्तासँग भेटघाट र विचार आदानप्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे।

"हाल म जिल्लाभर विभिन्न स्थानमा बैठक, सभा र प्रशिक्षणमा सहभागी हुँदै नेताकार्यकर्ताहरूको सल्लाह–सुझाव लिँदैछु," इन्चार्ज यादवले बताए। उनले प्रदेश र संघीय सरकारसम्म जनताको आवाज पुर्‍याउने निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै, जनताको योजनालाई सम्बोधन गर्ने क्रममा जनस्तरमा आफ्नो सक्रियताको चर्चा भइरहेको पनि बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी उपाध्यक्ष जय कान्त राउतले  सक्रियता र सहभागीता सँगै आम नागरिकमा आशा पलाएको छ कि यदि सबै पार्टीका नेताकार्यकर्ताहरूले यसरी काँधमा काँध मिलाएर काम गरे सिरहाको समुन्नति टाढा छैन।